बाबुले गर्भमै छोडेकी रञ्जु दर्शनाको घतलाग्दो जीवन संघर्ष


मेरो नाम रन्जु दर्शना,’ भोलिपल्ट भेटमा उनले आफ्नो नाम बताउनेबित्तिकै मनमा प्रश्न उठ्यो, ‘यो दर्शना कस्तो थर हो?’‘सरनेम पनि चाहिन्छ? मलाई त यही नामले चिन्छन्। दर्शना म आफैंले राखेको टाइटल हो। सुरुमा यो नामबाट फेसबुक अकाउन्ट खोलेको थिएँ। त्यसपछि यही नाम भयो। नागरिकतामा चाहिँ न्यौपाने लेखेको छ।’हामीसँग भेट्न अख्तियार अगाडिको जुलुस छाडेर आएको र आफू हिँड्नेबित्तिकै त्यहाँबाट सहकर्मीहरू समातिएको खबरले उनी विचलित थिइन्।
नेसनल कलेजमा डेभलपमेन्ट स्टडिज स्नातक दोस्रो वर्षकी छात्रा रञ्जु यसरी जुलुसमा हिँड्न थालेको तीन वर्ष भएछ। उनी १२ कक्षा पढ्दै गर्दा डा. गोविन्द केसीकै समर्थनमा पहिलोपटक सडकमा ओर्लिएकी थिइन्। त्यो दिन भ्यालेन्टाइन डे थियो। विदा माग्दा उनी पढ्ने हेराल्ड इन्टरनेसनलका शिक्षकले जुलुसमा जान लागेको भनेर पत्याउनै मानेका थिएनन्।रञ्जुले महाराजगन्ज चक्रपथमा घर बताएपछि हामीले पुख्र्यौली थलोबारे जिज्ञासा राख्यौं। ‘मलाई आफू जन्मेदेखिको थाहा छ, त्यसअघिको थाहा छैन,’ उनले भनिन्।
यो अलिक अनौठो कुरा थियो। त्यसैले जिज्ञासा झनै बढ्यो।
उत्तर दिनुअघि उनी एकछिन थामिइन्। त्यसपछि धाराप्रवाह बढिन्–
‘म मामुसँग मात्र बस्छु। म छ महिनाको गर्भ रहँदै मेरो मामु र बाबा छुट्टिनुभएको हो। १७ वर्षको उमेरमा पुग्दा पहिलोपटक मेरो बाबालाई देखेको हुँ। त्यो पनि ममीको नामबाट नागरिकता नबनिदिएर। बाबाचाहिँ उता विराटनगरमा बस्नुहुन्छ। अर्को बिहे गर्नुभएको छ। दोस्रो श्रीमतिबाट दुई बहिनी र एक भाइसहितको परिवार लिएर। यस्तो मेरो कथा छ, त्यसैले म आफूलाई ओरिजिनली काठमाडौंकै ठान्छु। नागरिकतामा जतासुकैको लेखियोस्।’
यसरी एउटा अर्को रोचक शृंखला थपिन् उनले।
बाबाले गर्भवती आमालाई छाडेर गएपछि आफू मावल हजुरआमाकै संरक्षकत्वमा हुर्किएको उनले सुनाइन्।‘८५ वर्षको उमेरमा पनि हजुरआमा साह्रै कडा हुनुहुन्छ,’ उनले भनिन्, ‘हिजो पनि जुलुसबाट फर्कंदा ‘दिनभरि हिँडेर खिस्रिक्क परिछे, बाँदर्नीजस्तो’ भनिरहनुभएको थियो।’
उनी हाँसिन्। उनलाई साथ दिँदै हामी पनि हाँस्यौं।मामाघरको ओत पाएर हुर्केकी दर्शनाले एसएलसीपछि नै नोकरी गर्न थालेकी थिइन्। एपटेक कम्प्युटर इन्स्टिच्युटमा टेलिमार्केटर थिइन् उनी। त्यसपछि विस्तारै उनलाई ‘नागरिकता’ भन्ने कुनै कागज हुन्छ जसको अभावमा अघि बढ्न सकिँदैन भन्ने महशुस हुन थाल्यो।
‘सुरुमा त बैंक अकाउन्ट खोल्नै नागरिकता नभई हुँदैन भनियो,’ उनी थप्छिन्, ‘म दौडादौड सरकारी कार्यालय धाउन थालेँ।’उनी वडा कार्यालय गइन्, बबरमहलबाट सिफारिस ल्याएपछि भरेर दिइन्।वडा कार्यालयका सचिवले भित्रको केही पढ्दा पनि पढ्नुभएन,’ भन्दै गइन्, ‘ममीको नागरिकता देख्नेबित्तिकै ‘ए…आमाको नामबाट नागरिकता?’ भन्दै फुत्त अर्कोतिर पन्छ्याइ दिनुभयो।’सानैदेखि आमाको संघर्ष हेर्दै हुर्केकी रञ्जुले उनी जन्मेको देशमा छोरी हुनु कति सकसको काम रहेछ भनेर फेरि महसुस गरिन्। तै उनले हार मानिनन्। ती वडा सचिवलाई फाइलभित्रको कागज हेर्न जिद्दी गरिन्। भित्र हेरेपछि ‘ए…यो त सर्लाही लेखेको रहेछ। सर्लाहीबाट मात्र हुन्छ’ भन्दै सचिवले फाइल उनकै हातमा थमाइदिए।
बिहे भएपछि रञ्जुकी आमा सर्लाहीमै गएर बुवाको घरमा बसेकी थिइन्। उनकी आमाको नागरिकता पनि बुवाकै नागरिकताका आधारमा उतै बनेको रहेछ। उनका बुवाले पत्नी त्यागेलगत्तै बसाइँ सरेर विराटनगर गएका रहेछन्।कट्टर धार्मिक परम्परा मान्ने रञ्जुका पिता विराटनगरमा जजमान काम गर्छन्। उतातिर हजुरबुवा, बुवा मात्र होइन उनलाई हुर्काउने मामाघरकी हजुरआमा पनि वैष्णव हुन्नागरिकताको जटिलताले रञ्जुलाई उनको बुवा खोज्नैपर्ने अवस्थामा पुर्यायो। उनी उतिबेलै विराटनगर पुगेर नागरिकता बनाएर फर्किइन्। रञ्जुकी ममी र बाबाको भने छुट्टिएको घडीदेखि नै फेरि भेटघाट भएको छैन। उनले त्यसको सम्भावना पनि देखेकी छैनन्।
नागरिकता बनाउन गएपछि बुवालाई भेटेकी उनले लगत्तै अर्को मौका पनि पाइन्। हेटौंडामा ठूलीआमा सिकिस्त बिरामी सुनेर पुगेको बेला त्यहाँ उनको बुवा सपत्नी आएका थिए।सानीआमाले पशुपतिको दर्शन गर्नुभएको थिएन,’ उनले भनिन्, ‘बुवाआमा दुवैलाई काठमाडौंमा घुमाउने काम मैले नै गरिदिएकी थिएँ।’ त्यतिबेला रञ्जुका बुवा भक्तपुरस्थित उनको अर्को ठूलोबुवाकहाँ बसेका थिए।मैले धरहरा, स्वयम्भू र पशुपतिनाथ लगिदिएँ,’ उनी भन्छिन्, ‘कान्छी ममी कस्तो फुरुङ्ग पर्नुभएको थियो।’
एउटी मात्र छोरी रञ्जु यसरी घरि जुलुस त घरि हडतालमा हिँडेको देख्दा उनकी आमालाई सुरुसुरुमा अनौठो लाग्थ्यो। तर, सानैदेखि ‘मायाको पोको’ उनलाई आमा फकाउने तरिका पनि राम्रैसँग थाहा छ। उनी सरल भाषामा आमाले बुझ्ने गरी सम्झाउँछिन्। जस्तो, गोविन्द केसीकै अभियान–ममी हेर्नुस्त! त्यो हेलिकप्टर किन आएको थाहा छ?’ टिचिङ अस्पताल छेवैमा घर भएकी उनी आमालाई भन्दिरहिछन्, ‘दुर्गम गाउँहरूमा उपचार नहुने भएकाले त्यसले बिरामीलाई बोकेर काठमाडौं ल्याएको हो। सक्नेले यसरी हेलिकप्टरमा राखेर बिरामी ल्याउँछन्। नसक्ने त उपचारै नपाएर उतै मरिरहेका छन्।’त्यहीँ नजिकै अस्पताल भइदिएको भए उनीहरूले घरछेउमै उपचार पाउँथे। होइन ममी?’ उनी भन्दिरहिछन्, ‘त्यसैले हामीले डा. केसीको अभियानलाई बलियो बनाउनुपरेको हो।’
रञ्जुलाई अस्ति मात्र यो अभियानकै क्रममा तयार पारिएको एउटा सानो भिडियोले निकै घत पारेको रहेछ। त्यसमा दुर्गम गाउँकी बूढीआमैले जीवनमा सिटामोल पनि नदेखेको दुखेसो सुनाइरहेकी थिइन्।मेरी ममी गहिरा राजनीतिक कुराहरू बुझ्नु हुन्न,’ उनी भन्छिन्, ‘हामीकहाँ भएका यस्ता बेथितिहरू उहाँ सजिलै बुझ्नुहुन्छ र म त्यसैलाई अझ सरल व्याख्या गरेर आफू किन र कहाँ गइरहेको छु भन्ने बुझाउने कोसिस गर्छु।’यसरी आमालाई बुझाइसकेपछि कहिले राति १० बजे त कहिले साढे १० बजे घर पुग्दा पनि उनले ‘सपोर्ट’ नै पाउने गरेकी छन्।
उनले केटाकेटीमै बलिदान सिनेमा हेरेकी थिइन्। त्यसमा हरिवंश आचार्यले पक्राउ पर्नेबेला आमालाई सम्झाइरहेका हुन्छन्। ‘आमा तिमी एक्लै रोइदेऊ न है। तिमी एक्लै रोइदियौ भने अरू हजारौं आमाले हाँस्न पाउँछन्,हरिवंशको त्यो संवाद अहिले पनि रञ्जुलाई आदर्श लाग्छ।
‘म पनि आमालाई यस्तै भन्छु,’ रञ्जुले भनिन्।रञ्जु र उनकी आमाबीच अरू पनि थुप्रै बेथितिलाई लिएर यस्तै संवाद हुन्छ।
उनको घरै सामुन्नेको बाटोमा पानी पर्नेबित्तिकै जहिल्यै पोखरी बन्छ। ‘यो किन भएको थाहा छ? किनभने काम नगरिदिएर हो ममी,’ रञ्जु भन्छिन्, ‘यस्ता बाटो बनाउन भनेर यति धेरै पैसा आउँछ ममी, तर खर्च हुँदैन हामीकहाँ। किनभने काम गरिदिने मान्छे नै छैनन्।’यसरी बेथिति औंल्याउँदा औंल्याउँदै उनी दुई वर्षअघि एउटा पार्टीमा आबद्ध भइन्। त्यो हो ‘विवेकशील नेपाली’ दल। कुकुर तिहारको दिन कुकुरलाई माला लगाइदिएर एकहुल तन्नेरीले त्यतिबेला चुनाव घोषणापत्र सार्वजनिक गरेका थिए। त्यो समाचार तस्बिरसहित द हिमालयन टाइम्समा छापिएको थियो। रञ्जुलाई यो निकै अनौठो लाग्यो। उनले इन्टरनेटमा गएर यसबारे थप खोजी गरिन्।
यो समूहको सबै कुरा रमाइलो लाग्दै गएपछि उनी पनि त्यसैमा मिसिन पुगिन्। १२ कक्षाकी छात्रा चुनावमा डटेर होमिइन्। भरे त संसारमा यत्रोविधि माया गर्ने उनकै आमाले कांग्रेसलाई भोट हालेको थाहा पाइन्। तर, उनी दुःखी भइनन्। किनभने, रञ्जुलाई थाहा छ परिवर्तन एकैपटक आउँदैन।अलिक दिनअघि जातीय विभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस परेको थियो। रञ्जुले सडक नाटकमा अभिनय गरेकी थिइन्। आफ्नो प्रस्तुति हेर्न उनले घरमा भएका सबैलाइ बोलाइन्।
आफ्नो नाटक हेर्न बूढी हजुरआमा पनि आएको बेला उनलाई असाध्यै खुसी लागेको थियो। त्यसमा उनले दलित महिलाको भूमिका खेलेकी थिइन्। हजुरआमाले सुरुदेखि अन्तिमसम्म चाख मानेर हेरिन्। अन्तिममा रञ्जुले ‘जातपातका आधारमा भेदभाव गर्नुहुँदैन’ भनेर लामै संवाद बोलेकी थिइन्। त्यो चाहिँ हजुरआमालाई उत्ति मन परेनछ।तैले अस्ति नाटक चाहिँ राम्रो गरिस्,’ एक सातापछि नातिनी–बज्यै कुराकानी गर्दा भनिछिन्, ‘अन्तिममा भनेको चाहिँ ठिक भएन।’
हजुरआमाले उल्टो सोधिछिन्, ‘त्यस्तो हो त?’
त्यसपछि हजुरआमाले नातिनीलाई लामै प्रवचन दिएर सृष्टिको जन्म कसरी भएको भनेर बताइछिन्। भगवानले मान्छेको सिर्जना शिरबाट, काँधबाट, खुट्टाबाट गरेका आधार दिइछन्।बाहुन, क्षेत्री, वैश्य, शुद्र भनेको त्यस्तो पो हो,’ हजुरआमाले भनिछिन्, ‘हामीले फेर्छौं भनेर फेरिने हो त?’रञ्जुलाई थाहा छ उनकी हजुरआमाको मनमा यस्ता रुढीवादी कुरा असाध्यै गहिरोसँग जमेर बसेको छ।
डा. गोविन्द केसीको समर्थनमा गएको शनिबार माइतीघरबाट निस्केको जुलुस नयाँबानेश्वर जाँदै। तस्बिर: चन्द्रशेखर कार्की‘म पनि अहिले नै आमालाई ‘यो मान्दै नमान्नुस्, मान्नै हुँदैन’ भनेर क्रान्ति गरेर हिँड्दिनँ,’ उनी भन्छिन्, ‘उहाँले बाल्यकालदेखि जे सिक्नुभयो त्यही नै पालना गर्दै आइरहनुभएको छ। यसमा उहाँको गल्ती के छ?’८५ वर्षकी हजुरआमालाई आफू १९ वर्षकी केटीले एक्कासि गएर अर्कै कुरा गर्न थाल्यो भने हजुरआमालाई बुझ्न गाह्रो पर्ने रञ्जुलाई राम्ररी थाहा छ। त्यही भएर समयलाई पर्खँदै विस्तारै यस्ता कुरा बदल्दै लैजानुपर्ने उनको अठोट छ।
‘हजुरआमाको सामुन्ने त उहाँकै सम्मानका निम्ति पनि मैले जान्ने बन्नु हुँदैन,’ उनी भन्छिन्, ‘मैले थाहा पाएको कुरा त म आफूले पालन गर्ने र साना भाइबहिनीलाई सिकाउने पो हो।’
सानैदेखि आफूले ठिक मानेका कुरामा अडान लिने बानीले कक्षामा पनि रञ्जु आफूले नबुझेको कुरा छ भने सोधेको सोध्यै गर्थिन्। उनलाई जसरी पनि उत्तर चाहिन्थ्यो र त्यो उनले बुझ्नै पर्थ्यो। टोलमा पनि यस्तै एकोहोरो बानीले गर्दा साना भाइबैनीहरू उनलाई ‘रञ्जु डन’ भन्थे रे!
रञ्जुको पुस्ताले सानैदेखि मुलुकमा लडाइँ हेरेर हुर्किनुपर्यो। टोलमा हतियार बोकेका सेना आइरहन्थे। बन्द भइरहन्थ्यो। मान्छे मरेका खबर आइरहन्थे।‘कुन दिन बन्द छ र कुन दिन बन्द छैन भन्ने थाहा पाउन बिहान उठ्नेबित्तिकै टिभीको पर्दामा हेर्थेँ,’ उनी भन्छिन्, ‘त्यो पर्दाले नै आज स्कुल जानु पर्छ कि पर्दैन भन्ने निर्धारण गर्थ्यो।’यी सबै कुराको प्रभावले आफूहरूलाई मुलुकका अरू कुनै पनि पुस्ताभन्दा फरक बनाएको रञ्जुको ठहर छ। उनीहरूले टेलिभिजनमा सबैभन्दा बढी राजनीति गर्ने मान्छे नै देखे। त्यसैले सबैभन्दा बढी ध्यान पनि राजनीतिमै गयो। तर, विद्यार्थी कालमा पनि नेविसंघ र अखिलजस्ता संगठनले उनको ध्यान कहिल्यै तानेन।
सानोमा नेविसंघ र अखिलले बन्द गरेको थाहा पाउँदा त उनलाई स्कुल जानुपरेन भनेर खुसी नै लाग्थ्यो। अहिले आएर सोच्दा मुलुक यत्रो विसंगतिमा फस्न पुग्नुमै कतै उनीहरूको हात त होइन भनेर उनलाई लाग्न थालेको छ।जहिल्यै टायर बाल्ने, झगडा गर्ने समूहले हामीलाई आकर्षण गर्दैगर्दैन,’ उनले भनिन्, ‘अझ बन्द आह्वान गर्नेले ट्याक्सी चालकलाई ट्याक्सीभित्रै राखेर जलाइदिएको सुन्दा त रिंगटा नै लाग्छ।’अहिल्यै पनि डा. गोविन्द केसीको पक्षमा लडाइ चलिरहँदा स्वयं नेविसंघ र अखिलका चिनिएका नेताहरू उल्टो व्यापारीको पक्षपोषणमा उभिएको देख्दा उनलाई विरक्त लाग्छ। जबकि, रञ्जुहरू हरबखत आफूले लिएको अडानका बारेमा यसलाई अझ तिखार्न लागिपरेका छन्।
‘हामी बेलाबेला बुद्धिजीवीहरूसँग गएर कुरा पनि गर्छौं,’ उनले भनिन्, ‘अस्ति मात्रै प्राध्यापक केदारभक्त माथेमासँग भेटेर उहाँको टिमले दिएको प्रतिवेदनका बारेमा जानकारी मागेका थियौं।’ संघर्ष केसीको निम्ति मात्र छैन। कहिलेकाहीँ त अप्रत्यासित रुपमा अर्कै कारणले पनि भिड्नुपर्ने हुन्छ। जस्तो, गत वर्षको भुइँचालो।भुइँचालो आएको बेला उनकी आमालाई एक्लै घरमा छाडेर उनी टिचिङ अस्पताल पुगिन्। यता भुइँ हल्लिरहेको छ, उता भएकी एक्ली छोरी बेपत्ता भइन्। आमा रुन थालिछन्। रञ्जु भने अस्पताल पुगेर शव उठाइरहेकी थिइन्। कतिदिनसम्म उनी उतै बसिन्।
‘त्यहाँ गेटभरि लासै लास र आँखाभरि आँसु देखिन्थे,’ उनी भन्छिन्, ‘तर, बोक्न चाहिँ सबैले धक मानिरहेका थिए।’यस्तोमा रञ्जु र उनका केही साथीहरूले धमाधम शव बोकेर अस्पतालको ब्ल्याक एरियामा पुर्याए। ‘हामीसँग त्यहाँ काम गर्न पछि प्रहरीका दाइहरू आउनुभयो,’ उनी भन्छिन्, ‘त्योबेला सनाखतका निम्ति मृतकहरूको क्षतविक्षत लाशको फोटो खिच्दा असाध्यै गाह्रो भएको थियो।’ संघर्ष केसीको निम्ति मात्र छैन। संघर्ष समाजमा मात्र छैन। संघर्ष आफैसँग पनि छ।रञ्जुलाई जीवनमा सबैभन्दा गाह्रो लागेको काम हो, पहिलोपटक ‘बाबा’ भनेर सम्बोधन गर्नु। त्यो एउटा शब्द मात्र थिएन, एउटा नाता पनि थियो, जसलाई उनले जीवनमा कहिल्यै अनुभव गर्न पाएकी थिइनन्।
उनलाई अहिले पनि बुवा भन्ने ‘फ्याक्टर’ जीवनमा कतै रहन्छ र हुनुपर्छ भन्ने पत्तै छैन। आठ कक्षा पढ्दासम्म त उनलाई त्यो नाताको अस्तित्वबारे थाहा नै थिएन। त्यसपछि भने साथीहरूसँग फराकिलो विषयमा कुरा हुन थाले। घोचपेच हुन थाले। त्यसले नै जबर्जस्ती महसुस गराउन थाल्यो।‘त्यसपछि म एकचोटि रोएको पनि छु,’ उनी भन्छिन्।
जहाँसम्म अहिलेको कुरा छ, अब त दुईपटक उनले बुवासँग समय पनि व्यतीत गरिसकेकी छन्।बुवाको अभाव कहिल्यै महसुस गरिन् कि?
जुन कुरा हुन्छ भनेर मैले कहिल्यै थाहै पाइनँ, त्यो कुराको अभाव किन महसुस हुन्थ्यो?’ उनले भनिन्, ‘मेरो निम्ति त ममी नै सर्वेसर्वा हो।’जीवनमा नागरिकता नभई हुन्न र नागरिकता बनाउन बुवा नभई हुन्न भन्ने थाहा पाएपछि बल्ल उनी यो नाता खोज्न बाध्य भएकी थिइन्। त्यतिबेलै उनले पहिलोपटक प्रयोग गरेको शब्द थियो, ‘बाबा’।आमाको नामबाट नागरिकता बन्दै बन्दैन भनिएपछि उनले सबैभन्दा पहिले सानैमा देखेको भक्तपुरवासी माइलो बुवालाई भेटिन्। त्यसैगरी मावलकै एक जना दाइसँग ठूलोबुवा भेट्न हेटौंडा पुगिन्। जन्म दिने बुवाको फोन नम्बर पाइयो। सुरुमा त फोन डायल गर्न पनि असाध्यै गाह्रो भयो। पहिलो र दोस्रोपटक फोन जाँदाजाँदै काटिदिइन्।
तेस्रोपटकमा छेउमा बसेका दाइले हात च्याप्प समातेछन्। उनलाई अलिकता तागत मिलेजस्तो भएछ। फोन उठ्नेबित्तिकै उनले ‘बाबा’ भन्न खोजेकोमा त्यो शब्द नै निस्केनछ। फेरि बल गरिन्। बल्ल आवाज निस्क्यो, ‘म रञ्जु…’
उताबाट पूरै मधेसी लवजमा अत्यन्त सामान्य हिसाबले आवाज आयो, ‘अँ भन् छोरी। अनि तँ कहिले आउँछेस्…।’
त्यसपछि उनी पुगिन् विराटनगर…।
विराटनगरमा बसबाट ओर्लिनेबित्तिकै रञ्जुको बाबा लिन आएका थिए।
‘सुरुमा त बाबाको रूप देखेरै म अचम्म परेँ,’ उनले भनिन्, ‘निधारमा लामो चन्दन र रंगीविरंगी टिका लगाउनुभएको, पछाडि टुप्पी बाँध्नुभएको। कुर्ता–पाइजामा लगाउनुभएको र हातले पुरानो साइकल डोर्याइरहनुभएको।’काठमाडौंमा हुर्केकी किशोरीलाई पहिलोपटक पिता सामुन्ने देख्दा अनौठो लागिरह्यो। ‘देउ तिम्रो ब्याग,’ मधेसी लवजमा उनका बुवाले भनेछन्, ‘म राखिदिन्छु।’उनले झसंग भएर आफ्नो झोला दिइन्। बुवाले साइकलको पछाडि राखे। उनी पछिपछि लागिन्।
‘ए बाबु यता हेर्,’ घर पुग्नेबित्तिकै उनका बुवा चिच्याएछन्, ‘तिमीहरुका ठूल्दिदी आएकी छे।’उनले झुलुक्क छेउमै उभिएकी कान्छी आमालाई पनि देखिन्। ‘अलिक हरियो रंगको आँखा थियो,’ रञ्जुले भनिन्।
त्यतिबेला उनको दिमागमा फेरि अर्कै कुरा घुमिरहेको थियो।
स्कुल पढ्दा साथीहरूले मधेसमा दाइजो नदिएकै कारण छोरी–बुहारीलाई जलाएर मार्नु सामान्य रहेको सुनाएका थिए। तराईमा यसरी जलाएर मार्नु सामान्य हो भने अब आफ्नो ज्यान पनि खतरामा रहेको उनलाई लाग्न थाल्यो। उनी त्यस रात बाहिरै खाटमा सुतिन्। तर, त्यहाँ त जलाउनु परको कुरा उल्टो माया पो पाइन्।
‘भाइबहिनी मसँग टाँसिए,’ उनी भन्छिन्, ‘उनीहरूसँग खेल्न पाएर म पनि हुरुक्कै भएँ।’
नागरिकता त बन्यो, तर रञ्जुलाई सबैभन्दा दुःख लागेको कुरा त्यसरी बनेको नागरिकतामा रञ्जुको आमाको कतै नामै थिएन। राज्यले नागरिकताको कार्डमै प्रावधान नराखेको होइन। त्यसमा आमाको नाम उल्लेख गर्ने ठाउँ पनि थियो। तर, जिल्ला प्रशासन कार्यालयले उनको ‘मायालु ममी’को नाम लेखिदिनुपर्ने ठाउँमा ड्यास मात्र तानेर दियो।
‘जुन आमाले मलाई जन्माइन् र एक्लैले हुर्काइन् त्यो आमाको नामबाट नागरिकता नबन्ने मात्र होइन,’ उनले भनिन्, ‘यो धर्तीमा मेरो निम्ति सर्वेसर्वा मेरी आमाको त यो राज्यले ज्यान गए पनि कुनै अस्तित्व नै स्वीकार्न मान्दैन रहेछ।’त्यतिबेला त रञ्जुले जसोतसो पाइएको नागरिकताबाटै चित्त बुझाइन्, तर अब भने उनलाई कसैगरी मिल्छ भने प्रतिलिपि बनाएर भए पनि आमाको नाम लेखाउने इच्छा छ।म यो भेदभावबाट सानैदेखि पिरोलिएको छु,’ उनी भन्छिन्, ‘मेरी नातेदार दिदीहरूले मलाई भानुभक्त स्कुलमा भर्ना गर्दा मेरो बुवाको नाम राखिदिनुभएको रहेछ। हरेक महिना स्कुलको रसिद आउँदा मेरो बुवाको नाममा रसिद काटिएको हुन्थ्यो, जबकि मेरी आमाले त्यो पैसा बुझाउनुपथ्र्यो।’
राज्यको मात्र कुरा होइन, शिक्षा दिने स्कुलले समेत यसरी भेदभाव गरेको उनलाई पटक्कै मनपरेको छैन। यही कुरा स्कुलमा गर्दा आफूलाई साथीहरूले घोर नारीवादी भन्ने गरेको उनी सम्झन्छिन्।म के हुँ भन्ने कुरा मलाई थाहा छ,’ उनी भन्छिन्, ‘म लिबरल हुँ। र्याडिकल फेमिनिस्ट त हुँदै होइन।’
तर, उनको कुरा बुझ्ने कस्ले?यो संविधानले पनि महिलामाथिको भेदभाव हटाएन,’ उनी भन्छिन्, ‘जे जस्तो गरे पनि बुवाकै सर्वोच्चता स्वीकार्नैपर्ने बनाएको छ।’ संविधान आउनुअघि आमाको नाममा नागरिकताको कुरालाई लिएर आन्दोलन चल्दा रञ्जु पनि पटक–पटक बानेश्वरमा गएर सडकमै सुतेकी रहिछन्।
‘तर, ख्वै…’ उनले भनिन्, ‘यहाँ केही हुँदैन रहेछ त…’
यसो भनेर हिम्मत हार्नु पनि रञ्जुलाई कुनै हालतमा मन्जुर छैन। उनी बेथितिविरुद्ध लडिरहन चाहन्छिन्

Comments